Sunday, September 1, 2013

उमा


कथा
उमा
                                               
                                             देवेन्द्रप्रताप शाह
    उमासँगको चिनजानको चौथाइ शताब्दी बितेछ । उनको कोठामा पहिलो पटक प्रवेश गर्दाको सङ्कोच र त्यसपछि विकसित हुँदै गएको हाम्रो सम्बन्धको खाका कोर्न मन लाग्छ । अविस्मरणीय मात्र हैन, संवेगात्मक र हार्दिकतापूर्ण थिए, उनले कोठामा आउन मलाई गरेकी निम्ताहरु र कोठामा प्रवेश गर्दाका स्वागतहरु । पहिलो प्रवेशमै खासै ठूलो घटना घटेको हैन, त्यसो त कोठा बाहिर भएको जिन्दगीकै पहिलो भेट पनि सामान्य नै थियो । सम्झना हुन्छ त पहिलो ५-७ वर्ष, यो अवधिमा उमासँगको सङ्गत उत्तेजनापूर्ण रह्यो, यसैले हाम्रो सम्बन्धको निरन्तरताको जग बसायो र बनायो एउटा कहिल्यै नमेटिने इतिहाँस । धन्य छन्, ती ५-७ वर्षहरु, जसलाई जति सुम्सुम्याए पनि धित मर्दैन ! त्यसपछि आयो एउटा लामो अन्तराल जसले हामीलाई एक-अर्कोबाट छुट्याइदियो, र पुर्‍याइदियो भिन्दा-भिन्दै संसारमा । न देखभेट, न बोलचाल, अत्तो न पत्तो, कता हो कता ।  समय यस्तो चिज हो जो आफ्नो गतिमा हिड्न कहिल्यै छाड्दैन, जसले आफूलाई यथावत राखेर जिव र निर्जिव सबैलाई बुढो र पुरानो बनाईदिन्छ । यही समयले उमा र म दुवैलाई ५० को भेटघाटमा पुर्‍याईदियो अहिले । तर मान्छेको रहर उसको उमेरसँगै हिड्ने होइन रहेछ । त्यसैले हाम्रा रहरहरु अझै ज्युँदै मात्र छैनन्, तीनले गन्तव्य भेट्टाउने एउटा संयोग फेरि जुटेको छ । डेढ वर्षदेखि उमासँगको भेटघाटको क्रम पुन: चालु भएको छ ।
   उमा विशेष थिइन् र छिन् । उनका विशेषता के हो त? धेरै छन्, झट्ट सम्झना आउँछ, 'बौद्दिक क्षमता' । नतमष्तक नै छु म उमाको बौद्दिकतासँग । कहिलेकाहीँ इर्ष्या पनि लाग्छ । वारम्वार सोध्छु आफैसँग, म उमा जस्तै किन हुन सकिन? अर्को, 'फ्र्याङ्क' र फरासिली छिन्, कहिलेकाहीँ चिसिन खोजे पनि उनको यही गुणले हाम्रो सम्बन्ध अहिलेसम्म अटुट राख्यो । उमेरसँगसँगै बोलिचालिमा झन बढी खुला हुँदै छिन् उमा ।  त्यस्तै, महत्वाकांक्षी र संघर्षपूर्ण जीवनमा रमाउने खुवी छ उनको । अनि अर्को विशेषता हो, फुटवलप्रेम । फुटवल त म पनि हेर्छु, तर उमा क्रेजी नै छिन् । केही दिनअघि विना सुचना साँझपख टुप्लुक्क घरमा आइपुगिन्, भनिन् 'सँगै बसेर फुटवल हेर्न आएको । तिमीसँग बसेर हेर्दा आनन्द दोवर हुन्छ' । ओर्ल्ड कप चलिरहेको थियो, त्यस राति फर्स्ट राउण्डको अन्तिम खेल थियो, इंगलैण्ड र अर्जेन्टिनाका बीच । आउनासाथ पहिले सोधेकी थिइन्, ‘भाउजू खै त?’
‘म एक्लै छु, भोलि आउँछिन माइतबाट’ जबाफ दिएँ ।
'बुढेसकालमा पनि माइत आउने-जाने भइरहन्छ भाउजूको?' ठट्टाको शैलीमा सोधिन् ।
'बुढेसकालमा माइत जान नहुने के छ र?'
‘भाउज्यू पनि भए अझै रमाइलो हुन्थ्यो' उनले थपिन् ।
'फुटवलमा फेवाको खासै चाख छैन, तिमीलाई थाहा छैन र?' सम्बन्ध गाढिदै जाँदा म र उमाका बीच एक आपसमा गरिने सम्बोधन शुरुमा 'हजुर', अनि 'तपाईँ' र अन्त्यमा 'तिमी' मा झरेको थियो ।
'तर भाउज्यू नभएकीले सजिलो पनि भयो । तिम्रै कोठामा टिभि छ, त्यहीँ टिभि हेर्ने र त्यहीँ सुत्ने आज'  स्वाभाविक पारामा अस्वाभाविक कुरा भनिन् उमाले । हामी यसअघि कहिल्यै एउटै कोठामा सुतेका छैनौँ ।
‘ए, के भनेकी तिमीले? हुँदैन, तिमी सुत्ने कोठा भिन्दै छ, मेरोमा हैन’ मैले अलि ठूलो स्वरमा जबाफ फर्काएँ । मलाई उमाको कुरा सहज लागेन  । धेरै पहिले त आफै उम्लेको थिएँ, आज के भयो? उमेरले यति कमजोर बनाएछ मलाई?
‘डरायौ? डरपोक त तिमी पहिलेदेखि नै हौ । एउटै ओछ्यानमा सुत्ने भनेको हैन नि । चाहन्छौ भने त्यसो गर्न पनि सकिन्छ’ उनले झन हाँस्दै थपिन् । ओछ्यानमा सँगै सुत्ने कुरा सुनेर पनि म अपेक्षाकृत रोमाञ्चित हुन सकिन । उमाको जिस्किरहने स्वाभाव भएर हो कि मलाई साँच्चै डर लागेको हो? थाहा पाउनै मुस्किल पर्‍यो । नर्भस भएँ क्यार । एक छिनपछि मेरो मुखबाट केही शब्दहरु निस्किए, ‘भाउजूलाई सोध्नु पर्छ’ । मैले यसो किन भनेँ, आफैलाई थाहा थिएन ।
‘के सोध्नु पर्छ? होसमा त छौ? बरु मै सोध्छु । भन, के सोधुँ?’ उमाले व्यागबाट मोवाइल झिकिन् ।
म झन डराएँ । ‘हैन, भैगो, सोध्न पर्दैन, तिमी यहाँ सुत्न पाउँछ्यौँ, तर एउटै ओछ्यानमा चाहिँ हैन’ मैले भनेँ ।
‘ठीक छ, मेरो रहर फुटबल हेर्ने हो' उनले थपिन् 'अर्जेन्टिनाको जितलाई तिमीसँग बसेर हेर्ने इच्छा छ । रातको १२ बजे फुटवल शुरु हुन्छ, निदाइरहेकी हुन्छु की भन्ने डरले पनि आएकी हुँ’ ।
'फुटवल सकिएपछि मात्र सुतुँला नि, त्यसअघि कुरा गरिहुँला, हुन्न? किन पीर गरेकी?' मैले आश्वासन दिएँ ।
  उमा आज पनि आउने कुरा छ । फुटवलको फाइनल आजै छ । एकछिनअघि फोन गरेकी थिइन् । तर अचम्मैसँग फोनमा उनले फुटवलको कुरा गरिनन्, आजको गेममा अर्जेन्टिना नभएर होला जस्तो लाग्यो पहिले त । तर झट्ट याद गरेँ, स्वर नर्मल थिएन, काँपेको लाग्थ्यो । केही भएछ कि भन्ने लाग्यो, अलिकति विस्मातमा परेँ । कौतुहुलताले सोधैँ, 'सबै ठीक छ, हैन?'
'ठीक छ' जबाफ आयो, तर बोलिबाटै लाग्थ्यो, केही अवश्य ठीक छैन । फोनमै खुर्‍याएर सोध्ने इच्छा भएन ।  
   घरमा मात्र हैन, कहिलेकाहीँ हाम्रो बाहिर पनि भेट हुन्छ । सधै फ्रेस र जली मुडमा रहन्छिन् उमा, यो अर्को विशेषता हो उनको । रेष्टुरामा एक छिन कफी पिउँदा पनि धेरै कुरा गर्न भ्याउँछिन्, आखिर पत्रकार न भइन्, फाष्ट र सार्प दुवै छिन् । प्रसङ्ग र एजेण्डा पनि अक्सर उनकै हुन्छ । उमा हाम्रो घरमा आउँदा एउटा रौनक सँगसँगै ल्याउँछिन् । फेवा र मेरो मुड ठीक नहुँदा उमाको आगमनले ठूलै काम गर्छ, बोल्नै छाडेका हामीलाई बोल्ने उर्जा दिन्छ । त्यसैले उनको आगमनलाई हाम्रो घरमा सधैँ स्वागत गरिन्छ ।
   छोराको बिहेको निम्ता दिन हाम्रो घर खोज्दै डेढ वर्षजति पहिले आउँदा दुई घण्टैमा फेवासँग झ्याम्मिएर उमा फर्केकी थिइन् । नयाँ व्यक्तिसँग चाडै नजिकिन सक्ने उनको कला अद्वितिय छ । धेरै वर्षपछि उनलाई देख्न पाउँदा म गदगद भएँ । उनी पनि भइन् पक्कै, यसै मेरो निवास खोज्दै हिडेकी होइन । उनको अगाडि कसरी पेश हुने भनेर असजिलो लाग्दै थियो, उनैले सजिलो बनाईदिइन् । देख्नासाथ अनौपचारिक मात्र हैन, आत्मीय ढङ्गले बोलिन् 'के हो मिष्टर? चिनिन्छ?'
मलाई तुरुन्तै त बोल्नै आएन, अनुहार हँसिलो बनाएर मौन रहेँ । सोधिन् 'म उमा, अझै चिनेनौँ?'
नचिनेको हुँदै होइन, कसरी बोल्ने भन्ने समस्या परेको हो । अब भनेँ, 'तिमीलाई नचिन्ने कुरा आउँछ? के कुरा गरेकी?'
'चिनेछौ, ठीकै भयो । नत्र मैले जानेकी थिएँ, बुझ्नु भो भाउज्यु, यो मान्छे मलाई वास्तै गर्दैन, म भने ... ...' कहाँ फेवासँग पनि पहिलेदेखि नै चिनजान भएको जस्तो पो गरिन् ।
'फेवालाई चिनेकी थियौ र?' सोधेँ मैले ।
'पहिलेदेखि नचिनेर के भयो र? अहिले चिनेँ नि, तिम्रो नजिक अर्को को हुन सक्छ?' मुखभरिको जबाफ आईहाल्यो ।  
   त्यही दिन हाम्रो परिचयको नविकरण भयो डेढ दशकपछि । यो अवधिमा ममा के के परिवर्तन आइसके होलान्? उनलाई कस्तो लाग्यो होला? एक प्रकारको लघुताभास भयो मलाई । बुढ्यौलीका सङ्केतहरु त उनैको अनुहारमा पनि स्पष्ट देखिए, तर पहिलेको 'चार्म' केही बाँकी नै पाएँ, मन प्रसन्न भयो । यो नविकरणपछि फाट्टफुट्ट उमा यहाँ आइराख्छिन् । उनको र फेवाको वानि-व्यहोर र बोलिचालीमा आकास जमिनको अन्तर छ । शुरुमा फेवालाई उमा मन पर्दैनथिन्, भन्थिन्, 'उत्ताउली छे' । तर मिलनसार र कुरा गर्ने खुलस्त शैलीका कारण उनी फेवाको मन  जित्न सफल भइन् । फेवालाई जिस्केको मन पर्दैन, त्यसैले ऊसँग कुरा गर्दा उमा सतर्क हुन्छिन् । तर मसँग भने हरेक बोलीमा ठट्टा गर्छिन्, र यो मलाई मन पर्छ पनि ।
   सम्झना गर्छु, दुई दशकअघि हामी काठमाडौ वालुवाटारको एउटै घरमा बस्थ्यौँ, घरको माथ्लो फ्ल्याटमा उनी, तल्लो फ्ल्याटमा म । डेरा थियो त्यो । घर कम्पाउण्ड ठूलै थियो, चौरमा हामी धेरैजना घाम ताप्थ्यौँ जाडोमा, सित्तल ताप्थ्यौँ गर्मी महिनामा । उमा झ्यालमा बसेर तलतिर हेरीराख्थिन, तल चोकमा मलाई एक्लै देखेपछि 'माथि आउने हैन?' भनेर बोलाउँथिन् । यसपछि म थाहा पाउँथे, 'उनको लोग्ने घरमा छैन' । अनि म भर्‍याङ उक्लिन्थेँ । एक-अर्का बीच गहिरो आकर्षण त्यसैबेलादेखिको हो । तर तीनताक पनि नबोलाईकन कहिल्यै उनको कोठामा जाने हिम्मत मैले गरिन किनकि उनको लोग्नेको डर लाग्थ्यो मलाई । साच्चैँ म डरपोक मान्छे नै हुँ कि?
   त्यति बेलादेखि नै उमा नियमित अङ्ग्रेजी पत्रिका पढ्थिन, समाचार सुन्थिन्, राजनीतिक कुरा गर्थिन्, तर पत्रकार भइसकेकी थिइनन् । त्यो पञ्चायतको जमाना थियो, गालि गर्थिन् पञ्चायतलाई । म उनको कुरामा सही थाप्थेँ, केही थप्थेँ पनि । उमाको जिस्कने बानी त्यस बेला पनि थियो । तर उनको ठट्टामा कता-कता व्यथा लुकेको महसुस गर्थेँ म । लोग्ने घरमा हुँदा र नहुँदा उमाको मुडमा आकास जमिनको फरक हुन्थ्यो । आधारातमा लोग्नेले उमालाई हप्काएको र पिटेको आवाज म तल्लो तलाबाट चाल पाउँथेँ, सहिनसक्नु हुन्थ्यो, गर्न केही नसक्दा छट्पटिन्थेँ । भोलिपल्टको भेटमा पिटाइका अवशेषलाई जबरजस्ति लुकाउन खोज्थिन उमा । जिउको सुन्निएको भागलाई कुनै तरिकाबाट ढाक्ने प्रयास गर्थिन् । तर सफल हुन सक्दैनथिन् । बलजफत बनाइएको हँसिलो मुद्रामा पेश हुन्थिन, तर मैले चाल नपाउने कुरै थिएन । यो मर्माहतपूर्ण दृष्य हुन्थ्यो मेरो लागि । म केही पनि चाल नपाए झै गर्न वाध्य हुन्थेँ, र भित्रभित्र उनको लोग्नेप्रति मुर्मुरिन्थेँ । शायद यही कारणले मेरो मनले उनीप्रति सहानुभुति राख्यो र उनलाई भेटीरहन लालायित भएँ । ठूलो कुरो त के भने त्यस्तो प्रतिकुल निजी अवस्थामा पनि उनमा हौँसला हराएन, मलाई माथि बोलाउने र कुरा गरीरहने जाँगर पनि यथावत रह्यो  । अझ भन्थिन्, 'जिन्दगीमा केही गरेरै छाड्नु छ, सधै म यसरी कहाँ बस्छु र?'
   उनकै कोठामा बसेर कुरा गरिरहँदा एक पटक उमाले अचानक गम्भीर प्रश्ताव राखेकी थिइन्, 'सुजनबाबु, तिमीले बिहे गर्ने केटी म खोज्छु है?' यो प्रस्ताव मलाई पटक्कै मन परेन, किन हो किन हल्का रिस पनि उठ्यो, तर हाँसेरै टारिदिएँ । बिहेको बारेमा सोचेको पनि थिइन । फेरि अर्को दिन पनि यही प्रस्ताव दोहोर्‍याइन् । मलाई के भनुँ के भनुँ भयो, उनकै कोठामा दुवै उभिएर कुरा गर्दै थियौँ । कत्रो आँट मेरो? दायाँ वायाँ कतै नहेरीकन ग्याम्मै आफ्नो अङ्गालोमा कसीदिएँ मैले उमालाई । निमेषभरको लागि नौलो रमाइलो अनुभुति भयो, खोजेकै कुरा पाए जस्तो । उनी छट्पटाईन् र फुत्केर भान्छातिर भागिन् । यसपछि मलाई आफ्नो कृया प्रति ग्लानिवोध भयो, गल्तीको आभास । भयभित हुँदै सोफामा थचक्कै बसेँ, आँखा चिम्म गरेर बसीरहेँ । उमालाई थाहै नदिई कोठाबाट भागीहाल्ने सोँच आयो दिमागमा, तर भागिन । एकै छिनमा उनी कोठामा पसिन्, दुई कप चियाका साथ एकदमै नर्मल मुद्रामा, केही पनि नभएको जस्तो गरी । भनिन्, 'जाडो छ, चिया त खानै पर्‍यो नि, हैन?' अवस्थालाई सामान्यायिकरण गर्ने उनको तरिकाको मैले मनमनै प्रसंसा गरेँ । ठूलै सङ्कटबाट पार पाए झै लामो सास पनि फेरेँ ।
   उमाको शरीरमा आफ्नो शरीर टाँसेको त्यो नै पहिलो पटक थियो, खासै विरोध नआएकोले मेरो हौँसला बढेको हुन पर्छ, यसपछि पनि एक-दुई पटक मैले त्यसो गरेँ, पछिल्लो पटक धेरै वेरसम्म उनको ओठैमा चुम्बन गरेँ । त्यो रमाइलो अनुभूति म बिर्सन सक्दिन । गजब थियो, उमा रिसाउँदैनथिन्, हरेक पटक वलपूर्वक फुत्किन्थिन्, फेरि कोठामा बोलाईरहन्थिन् । तर सत्य के हो भने यो भन्दा अघि बढ्न भने सकेन मेरो कृयाकलाप । मनमा अनेक थरिका कुराहरु खेल्थे, तर मेरो आँटको सीमा कोरियो आफसेआफ । यसमा वातावरणीय प्रभाव पनि नभएको हैन ।
   सम्बन्धको यो चरणमा धेरै दिन नबित्दै वालुवाटारको डेरा छाड्ने पर्ने क्षण आईपुग्यो । छाड्नुअघि मौका मिलाएर हामीले धेरै बेरसम्म कुरा गर्‍यौँ, तीनताक उनी हाउसवाइफ मात्र थिइन्, लोग्नेको डर र बच्चा सानै भएको कारणले बाहिर हिड्न करिव करिव उनलाई वन्देज जस्तै थियो । अन्त्यमा विनयतापूर्वक 'प्लिज भेट्न नछोड है' भनिन् उमाले । उनको यो भनाइका शब्द भन्दा शैलीबाट बढी प्रेम झल्केको थियो, मुखाकृतिले त्यो प्रेमलाई झन बढी गाढा बनाएको  थियो, जसको वर्णन म यहाँ असम्भव देख्छु । मैले धन्नै रुँदै 'हुन्छ' भनेँ । यो नै शायद क्लाइमेक्स भयो हाम्रो सम्बन्धको । अनि जागिर खाएर काठमाडौ बाहिर गएँ, सम्बन्ध टुट्यो ।  समयान्तरमा मैले फेवालाई मन पराएरै जीवन-संगिनी बनाएँ । भोज-भतेर केही भएन, बाहिरकालाई कसैलाई बोलाइएन पनि । उमाको लागि मेरो बिहे सुखद समाचार हुँदैन भन्ने पनि लाग्यो । आफ्नै संसारमा रमाउन थालेँ, उमालाई बिर्सेँ । यस्तो पनि हुँदो रहेछ जीवनमा । वालुवाटारको डेरा छाडेपछि शुरु भएको हामीबीचको अन्तराल लामो, फराकिलो र विकराल हुँदै गयो ।
   फुटवल हेर्न आएकी साँझलाई पनि उमाले स्मरणीय बनाएरै छाडिन् ।  स्कूलदेखि नै फुटवलमा रस रहेछ उनको, । तर भन्थिन्, 'पहिले खेल्थेँ, एस एल सी दिन परेपछि मेरो फुटवल जीवन समाप्त भयो' । त्यो रात आखिर उनी मेरै कोठामा सुतिन्, अर्को कोठामा गइनन् । कति हिम्मती रहिछिन् । फुटवल शुरु हुनुअघि सोफामा पल्टिन्, म ओछ्यानमा । यस्तै पोजिसनमा हामी कुरा गर्दै रह्यौँ । कुरा गर्दागर्दै मेरो नियत बिग्रन खोज्यो । सोधेँ, 'किन सोफामा सुतेकी? ओछ्यान यति फराकिलो छ' । के जबाफ आउने हो भन्ने डर पनि थियो मनमा । सामान्यतया म यसरी बोल्दिन ।
मेरो बोलि उनलाई असहज लागेन, जबाफ आयो, 'म भाउज्यूको ठाउँ लिन चाहन्न' ।
'यसमा फेवाको नाम लेखेको छ र?' मैले निडरता देखाएँ ।
'निसन्देह: छ, त्यो मेरो ठाउँ हुँदै होइन' उमा कड्किन् 'सामाजिक नियमहरु किताबमा लेखिदैनन् महाशय, फेरि अर्को कुरा पनि छ, म त्यहाँ सुतेँ भने ओछ्यान धेरै तात्छ, तिमी पग्लेलाउ' ।
'त्यो तिम्रो चिन्ता हो र? तात्न देऊ, केही फरक पर्दैन' मैले जिद्दी गरेँ ।
'तिमी पग्लेको म कसरी हेरिरहन सक्छु? फेरि म पनि पग्लिएँ भने?' सोधिन् ।
'दुवै पग्लिए त ठीकै हुन्छ नि, के फरक पर्छ?' मैले आस्वस्त पार्न खोजेँ ।
'भो, यो कुरा छाड, म पग्लिन चाहने महिला हैन । तिमी लोग्नेमानिस हौ, बदमासी गर्न सक्छौ' आफूलाई सति सावित्री दावि गर्दै मलाई सचेत गराइन् उमाले ।
'त्यसो भए अघि के भनेको त?' एउटै ओछ्यानमा पनि सुत्न सकिने उनको भनाइतिर इङ्गित गर्दै मैले सोधेँ ।
'तिमी ठट्टा बुझ्दैनौँ?' उनकै कुरा माथि भयो ।
'अनि सोफामै सुत्न आएकी?'
'फुटवल हेर्न आएकी, तिमीलाई वदमासी गराउन आएकी हैन, बुझिराख?'
   मलाई छट्पटि भयो, निकै पटक ओछ्यानमा पल्टने र उठेर टुक्रुक्क बस्ने कृयालाई दोहोर्‍याई रहेँ । उमा जस्ति इन्टेलिजेन्ट महिलाले मेरो अवस्था नबुझ्ने कुरै थिएन । तर मौन रहिन्, नबुझेकी झै गरिन् । युवा उमेरमा वालुवाटारको डेरामा ग्याम्म अंगालो हालेको सम्झिएँ, त्यसै गरेर अघि बढ्ने अभिप्रायले म ओछ्यानबाट उठेँ । उमाको नजिकै के पुगेको थिएँ, फुटवल शुरु भइहाल्यो, अनुहारमा गम्भिरपन ल्याउँदै उनले सतर्क गराइन् मलाई 'प्लिज है, अब ...'।  मनमा उठेको तातो सेलाएर चिसो भयो । संवेग पनि ओर्ल्यो एकाएक । यसै पनि हिम्मतवाला मान्छेमा म पर्दैनथेँ, उमेरले त झन लुते बनाईदिएको अनुभव भयो । अगाडि बढ्नै सकिन, थामिएँ, फर्किएँ र फुटवलतिर ध्यान केन्द्रित गरेको भान पारेँ । उनको ध्यान त त्यता केन्द्रित भइसकेकै थियो । सोचेँ पनि, फुटवलपछिको समय उपयोग गर्नु ठीक होला । तर अनपेक्षित भयो, अर्जेन्टिना ओर्ल्ड कप फाइनलको फर्ष्ट राउण्डबाटै बाहिरियो । गेमको नतिजाले उमा सक्ड भइन्, पिडीत महसुस गरिन् आफूलाई । चुपचाप सुतिन् सोफामा । सोफातिर बढ्ने आँट गरिन, निन्द्राले पनि च्यापेको थियो, सुतेँ । ब्युँझदा उनी गइसकेकी थिइन् । कागजको ठूलो पानामा ठूलै अक्षरले 'लाछी' शब्द लेखिछिन र उठ्ने वित्तिकै मैले देख्ने ठाउँमा राखेर हिडिछिन् । हाँसो उठ्यो, आत्मग्लानि पनि भयो । तर उमा जिस्केकी ठानेर चित्त बुझाएँ, फेरि सुतेँ ।
   उमाले इकोनोमिक्समा एम ए गरेकी छिन् र निरन्तर अध्ययनमा डुब्छिन् । रुपमा सामान्य भन्दा माथि छिन्, आकर्षक जिउ-डाल छ । तर अहिले रुप र डालको कुरा किन गर्ने? सुनेको हुँ, उमेरमा यिनको पछाडि केटाहरु झुम्मिन्थे । तर ती झुम्मिनेहरुमा म परिन, उनीसँग भेट्ने सजिलो र छोटो बाटो थियो मसँग । तर अपसोच वा जे भनुँ, हाम्रो पहिलो भेटअघि नै उनी आमा बनीसकेकी थिइन् । म भने अविवाहितै । ती झुम्मिनेहरुबाट गलत छनौट गरिन् उमाले, यो मैले सुनेको मात्र हैन, देखेँ पनि । गलत छनौटको पहिलो नतिजा थियो, माइतीबाट वन्देज, जातको कारणले । तर मेरो विचारमा जात हैन, लोग्नेको वानी व्यहोरका दृष्टिले उमाको छनौट गलत थियो । ऐन-मौकामा निर्णय गर्न नजानेपछि रुप र बौद्दिकताले काम गरेन । घर-माइत गर्ने एउटी भर्खरकी चेलीको सपना सपनै रह्यो ।
   लोग्ने टोलको एक मशहुर जड्याहाँ थियो, जोसँग उमाको राम्रो सम्बन्ध भएको मैले चाल पाइन । वैवाहिक जीवनका शुरुका दिनहरु कस्ता थिए, मलाई थाहा छैन, उनले पनि भनेकी छैनन् । उमाप्रति मेरो मनमा श्रद्दा सिर्जना भयो जब मैले थाहा पाएँ कि सधै आफू पराजित भएर लोग्नेसँगको सम्बन्धलाई उनले निरन्तरता दिन चाहिन् । उमा आजकी हैन, हिजोकी केटी थिइन्, सहने कला उनमा थियो । आफ्नो सुख-सन्तोष भन्दा अर्कै चिजलाई हेरिन् । 'जिन्दगीमा एक पटक भुल भइसक्यो, अब दोहोर्‍याउँदिन' लोग्नेको कुरा अक्सर गर्दिनन् पहिलेदेखि नै, तैपनि उनले कुनचाहिँ प्रसङ्गमा भनेकी थिइन् । तर यो त्यागले उनलाई के पुरस्कार दियो, म भन्न सक्दिन ।  लोग्नेले न रक्सी छाड्यो, न बेलुकी स्वास्नी पिट्न । पछि  अमेरिका गएछ । कसरी भिसा मिलायो, थाहा छैन । सुनेका अन्य कुराहरु यस्ता छन् - गएपछि गैरकानुनी भएरै उनको लोग्ने अमेरिका बसिरह्यो आफूलाई अविवाहित बताएर त्यहाँ पनि विहे गर्‍यो, नयाँ स्वास्नीलाई पनि पिट्न थाल्यो । तर त्यो त नेपाल हैन, स्वास्नीकै उजुरीमा जेल पर्‍यो । उमा भन्थिन, 'जेलबाट निस्केको थाहा पाएँ, अरु थाहा छैन । उसले दिएको पीडा अहिले पनि चसक्क दु:ख्छ । ऊसँग अब मेरो कनेक्सन छैन' ।
   फुटवलमा अर्जेन्टिना उमाको सबैभन्दा मन पर्ने टिम हो, यो मलाई थाहा थियो । तर उनले 'अर्जेन्टिनाको जीत हेर्न आएको' भनेपछि मैले सोधेको थिएँ ‘अर्जेन्टिनाले नै जित्छ कसरी भन्यौँ? तिमी ज्योतिष हो र?’
‘म अर्जेन्टिनाको फ्यान हुँ ।  उसैले जित्छ, वाजी ठोक्छौ त?' उनले आत्मविश्वासका साथ भनेकी थिइन । तर भनिसकेँ, उमाको टीमले गेम हार्‍यो ।
'अर्जेन्टिनासँग यो मोह कसरी?' मैले सोधेँ ।
'ल, थाहा छैन? म्याराडोना मेरो हिरो हो । म उसलाई भेट्न चाहन्थेँ, तर यो सम्भव छैन । फेसवुकमा खोजेँ उसलाई मैले, 'I love you'  पनि लेखेँ उसको वालमा' ।
उमाको भनाइ सुनेर म हल्का स्याड भएँ, जुन व्यर्थ थियो । सोधेँ 'जबाफ पनि आयो कि?'
'धत, जबाफको आशाले लेखेकी हैन, म्याराडोनालाई त्यस्तो लेख्ने लाखौँ छन्, मेरो के मूल्य हुन्छ? मलाई त म्याराडोना र उसको देश अर्जेन्टिना दुवै मन पर्छ । कहिलेकाहीँ भ्रममा हुन्छु । म्याराडोनाको देश भएर मैले अर्जेन्टिनालाई मन पराएकी हुँ कि अर्जेन्टिनाको भएकोले म्याराडोनालाई मन पराएकी हुँ । तिमीलाई थाहा छ? १९३० को ठूलो आर्थिक मन्दिअघि अर्जेन्टिना संसारको सबैभन्दा १० धनि देशहरुमा पर्थ्यो । तीनताक युरोपियनहरु आफ्नो गरिबीबाट मुक्ति पाउन अमेरिका वा अर्जेन्टिनामा माइग्रेट गर्थे । तर अचम्मै भयो, केही दशकपछि यस्तो अवस्था आयो कि सबै अमेरिका जान थाले, अर्जेन्टिना पहिलोबाट तेश्रो विश्वको मुलुकमा झर्‍यो । म यसमा दु:खी छु, म्याराडोनाको देश कसरी ओरालो लाग्यो? म ती सबै सरकारहरुलाई गालि गर्छु जसले अर्जेन्टिनामा शासन गरे । स्पेनलाई पनि गालि गर्छु जसले यो देशलाई सयौँ वर्षसम्म कोलनी बनायो । साच्चैँ भन्ने हो भने म संसारका सबै सरकारहरुको विरोधि हुँ, सरकारहरु नभएका भए संसार अहिलेको भन्दा सुन्दर हुन्थ्यो भन्ने लाग्छ' । उमाको कुरा सुनेर म अवाक्क परेँ ।
जिज्ञासा राखेँ, 'तिमी त अर्जेन्टिनाको विशेषज्ञ नै बनिसकीछौ, कसरी?'
'यतिले कोही विशेषज्ञ हुँदैन, म्याराडोनाको मायाले अर्जेन्टिना सम्बन्धी किताबहरु पढ्न थालेँ मैले, तर पछि देशैको माया गर्ने भएँ । पढेरै थाहा पाएँ, १९५० को दशकसम्म अर्जेन्टिनाको प्रति व्यक्ति आय जापानको भन्दा तेवर थियो । तर १९८० को दशकमा आइपुग्दा यो रेसियो करिव करिव ठीक उल्टो भयो । दूर्भाग्य ! सरकारहरुले बिगारे'
'सरकारसँग यस्तो घृणा किन नि?'
'तिमी अर्थशास्त्रीको विद्यार्थी हैनौँ, म हुँ । तिमी पत्रकारिता गर्दैनौ, म गर्छु । सरकारले बिगारेको देखेकी छु, देशलाई मरञ्च्याँसे बनाएर मन्त्रीहरु मोटाउँछन् । अर्जेन्टिनालाई त ध्वस्तै बनाए त्यहाँका सरकारहरुले । भ्रष्ट, स्वार्थी र अकार्यकुशलहरुले चलाए सरकार । गलत आर्थिक नीतिको पनि शिकार भयो अर्जेन्टिना । नत्र अहिले अमेरिकाकै हाराहारीमा हुन्थ्यो' ।
'सरकार नभएको भए संसार सुन्दर हुन्थ्यो भन्छ्यौ, यो त कसैले पत्याउदैन' उमाका कुरा रोचक थिए, त्यसैले थपेँ ।
'साच्चै मलाई यसमै विश्वास लाग्छ । तिमीले मिल्टन फ्रिडम्यानको नाम सुनेका छौ? नोवेल विजेता अमेरिकी अर्थशास्त्री थिए यिनी । यिनैले भनेका थिए, - सरकार सबै चिज बिगार्छ, केही पनि बनाउँदैन । वस्तवमा सरकार आफै एक समस्या हो, समाधान होइन । कार्ल मार्क्सको भनाइमा मिल्टन विश्वास गर्दैनथे ।  म मिल्टनवादी हुँ, मार्क्सवादीहरुले जस्तो सबै कुरा राज्यले निर्धारण गर्नु पर्छ भन्दिन, बुझ्यौ? देखेकै छौ, सबैतिर सरकारले नै बिगारीराखेको छ, संसारका हरेक युद्द मच्चाउने सरकारै हो । देशको साधनलाई सलक्क निलेर जनतालाई दु:ख दिने काम सरकारले नै गर्छ, आफू हाँस्छ र जनतालाई दु:ख दिन्छ सरकार । भ्रष्टाचारको जननि हो सरकार, आफै नियम बनाउँछ र त्यही नियम मिच्छ सरकार । छि सरकार । मेरो विचारमा हामी सबै मिलेर सरकारको विरोध गर्नु पर्छ' कवितात्मक शैलीमा उमाले भनिन् ।
'कुन सरकारको?' ताजुबताका साथ मैले सोधेँ ।
'जुन पनि, यो र ऊ भन्ने नै छैन, म कुनै दलप्रति पूर्वाग्रह राख्दिन र कुनै दलमा विश्वास पनि छैन'
'तिमी निर्दलीय होलाऊ, हैन?' मैले प्रसङ्गलाई अलिकति ट्विष्ट गर्न खोजेँ ।
'हुन सक्छु, तर म पञ्चायती निर्दल हैन, शायद तिमीले त्यही भन्न खोजेको होला । म राजाको विरोधमा उभिन्छु किनकि उनी पनि सरकारै थिए । यहाँ हरेक विकृति सरकारको निर्देशनमा हुन्छ वा आफ्नो फाइदाको लागि सरकार आँखा चिम्लिएर बस्छ । यही नियति हो मिष्टर, विश्वास गर' । उमाको भनाइ सुनेर म छक्क परेँ । यतिविघ्न जानकारी कसरी हुन्छ उनलाई? एक पटक मैले सोधेँ पनि, जबाफमा उमाले भनिन्, 'अध्ययन नै यसको कारण हो । पत्रकारकारिताको पेशा नै अध्ययनमा आधारित छ' ।
  यति रमाइली उमा आज फेरि आउने कुरा छ । फेरि फुटवल हेरिन्छ सँगै बसेर । तर उनले फोनमा आज फुटवलको कुरा किन गरिनन्? अचम्म लागेको छ । स्वर खस्केको कुरा त मैले गरिहालेँ । तर जे भए पनि उनको आगमनको यो प्रतिक्षा आफै एउटा मीठो लय जस्तो लागिरहेको छ । उमा साच्चै आइपुगिन् जुन अपेक्षित नै थियो । तर आएर जुन कुरा उनले गरिन् त्यो अनपेक्षित थियो । यस पटक छोरालाई पनि लिएर आएकी रहिछिन् । यो छोराको विहे डेढ वर्षअघि मात्र भएको थियो, आर्मी क्लवमा भोज खाएको अझै सम्झन्छु ।
'भाउजू खै?'
'छैन' मैले उत्तर दिएँ । आज पनि फेवा घरमा छैनिन्, छोरीलाई पुर्‍याउन कालिम्पोङ गएकी छिन् । यसपाली फेवाले जान्छु भनिन्, मैले मानेँ । पढाइको लागि हाम्री छोरी पोहोरदेखि त्यहाँमा छे, आउने-जाने गरिराख्छे ।   
'सधै भाउज्यू छैन भन्छौ, यो ठीक हैन है' उमाले भनिन् । तर अनुहारमा पहिलेको मुस्कान र चमक छैन जुन हुने गर्थ्यो, निराश पो देखिन्छिन् । मलाई अस्वाभाविक लाग्यो, सोधेँ, 'आज के भएको छ तिमीलाई?'
'केही पनि भएको छैन, जे भएको छ यसलाई भएको छ' छोरातिर देखाउँदै उनले जबाफ दिइन् । मैले छोरालाई सोधेँ, 'बाबु, के भयो?'
'यसले के भन्छ? केही पनि भन्न सक्दैन, मै भन्छु । हामीलाई अर्को विपत आउन लागेको छ सुजनबाबु' उनले निराशा पोखिन् ।
'यो विपत पनि तिमीलाई सरकारले नै ल्याउन लागेको हो कि?' उनको कुरालाई वास्ता नगरे झै गरेँ मैले ।
उनलाई लाग्यो, म जिस्कन खोज्दैछु । एकछिन आफूलाई रोकिन्, मुद्रा गम्भीर बनाइन् । सधै उत्साहित मुडमा रहने उनको गम्भीरपनाले मलाई टोक्यो र चिथर्‍यो । जिस्केकोमा मैले 'सरी' भनेँ ।
'इट्स ओके' भनिन् उमाले ।
'अनि भन न त, कुरा के हो?' मैले चासो लिएँ ।  
'यसको (छोरातिर देखाउँदै) स्थिति अब डिभोर्स हुनेमा पुगेको छ' उनले अध्यारो मुख लगाएर भनिन्, उनको अनुहार हेर्न नसकेर म घोप्टिएँ । घोप्टिएरै सोधेँ, 'किन, के भयो र?'  
'रिताले सबै दोष मलाई दिएकी छे । मलाई बोक्सी पनि भनी । मैले यसलाई (छोरातिर देखाउँदै) तिमीहरु दुईजना सँगै बस, मलाई एक्लै छाडे हुन्छ भनिसकेँ । तर यो मान्दैन, रिताको अर्कैसँग एफेयर भएको यसले थाहा पाएछ' उमाले वेलिविस्तार लगाइन् । सुनिनसक्नु यो कुरा सुनेर स्तब्ध भएँ । रिता उमाकी बुहारी हो । कुरा सुन्न नसकेर छोरा ढोका बाहिर निस्कियो, फेरि भित्र फर्केन ।
'त्यो गयो, अघिदेखि नै यहाँ आउन मानेको थिएन, मैले जबर्जस्ती ल्याएँ, तुरुन्तै जान्छु भन्थ्यो, गयो' उमाले भनिन्  'आज म यहीँ बस्छु, हुन्छ? थाकेकी छु फिजिकल्ली र मेन्टल्ली दुवै'
म के भनुँ, यस्तो बेलामा । उनको आगमन र बसाइ मलाई मन नपर्ने थिएन, फेवा पनि घरमा थिइनन्, यो मौकै थियो । तर असजिलो लाग्यो, भनेँ, 'तिमी आज आफ्नै घर जानु पर्छ होला, छोराले के ठान्ला?'
'उसले के ठान्ने? ऊ आफै साथीकोमा जाँदैछ फुटवल हेर्न । फेरि, म अब ऊसँग पनि डराउँ? हिजो उसको बुवाले सताएको थियो, अब उसकी स्वास्नीले सताउन थालेकी छ । के म सधै सताइनु पर्ने हो?' यति भनेर उमाले आँखाबाट एक्कासि बररर आँशु झारिन् । भूकम्प आयो मेरो मनमा, किकर्तव्यविमुढ बनेँ । खपिनसक्नु भयो, बसेको कुर्सीबाट उठेर उनको ढाडमा सुम्सुम्याउन पुगेँ, 'हग' गरेँ । अनि भनेँ, 'नरोउ, म तिमीलाई माया गर्छु' । तिमी जस्ति दृढ र बलिया महिलाले रोएकी सुहाउँदैन' ।
'एउटा तिमी मात्रै छौ मेरो कुरा बुझ्ने, तिमीले बुझ्न छाड्यौ भने म आत्महत्या गर्नेछु । आखिर मर्नै पर्छ एक दिन'
'के भनेकी, यति बुझ्ने मान्छेले यस्तै कुरा गर्छ?'
'मैले अहिले काम गरेको दैनिक पत्रिकाको सम्पादक हुन चाहन्थेँ म । सम्पादक भएर संसारै परिवर्तन गर्ने आफ्ना योजनाहरु लागु गर्ने धोको थियो मेरो । यसैको लागि धेरै दु:ख गरेँ, तर मैले कसैको साथ पाइन, घर-व्यवहार सोचेँ जस्तो कहिल्यै भएन । के माइत, के घर? संसार त के, आफ्नै परिवारलाई परिवर्तन गर्न सकिन । म कस्ती अभागी रहिछु? महिला भएर किन जन्मिएँ? तिमी जस्तै पुरुष किन हुन सकिन? भगवानले किन महिलालाई यति विघ्न सास्ति दिएका होलान्?' यति घोर निराशा उमाबाट विगतमा कहिल्यै अभिव्यक्त भएको थिएन । यसबाट म आफै ठूलो भुमरीमा परेको अनुभव भयो । केही बोल्न सकिन, हो वा होइन केही भनिन । उमाको हिम्मतमा ह्रास आउन खोजेकोमा विचलित भएँ।
उनैले थपिन्, 'कुरा सकिएको छैन, अहिल्यै नआँत्तिउ । सधैँ हाँसेकी देख्थ्यौ, तिमीले मैले डाँको छाडेर रोएकी धेरै वर्षपछि आज देख्ने छौ । म त यहीँ सुत्छु तिम्रै कोठामा । तिमीसँग टाँसिएर धेरै रुनु छ मलाई आज' ।
म फेरि नाजबाफ भएँ । उनका शब्दहरु - तिमीसँग टाँसिएर – रोमान्टिक जस्ता लागे पनि वास्तवमा उनको मनसाय त्यस्तो थिएन । वातावरणलाई सुधार गर्ने उद्देष्यले भनेँ, 'आजको खेलमा त अर्जेन्टिना छैन' ।
अर्जेन्टिना शब्द सुनेपछि उनको अनुहारमा अलिकति परिवर्तन आयो, भनिन् 'आज म फुटवल हेर्न आएको हैन, बसेपछि हेरिएला वा बीचैमा निदाउँला । मलाई थाहा छ, आज यहाँ अर्जेन्टिना वा म्याराडोना कोही देख्न पाइँदैन । तर म निर्धक्क रुन त सक्छु' ।
'ढुकक हुनु, यो कोठामा आज सरकार पनि हुने छैन' उनको मुड ठीक पार्न मैले यो कुरा गरेँ ।
उमा मुस्काइन्, तर बोलिनन् । उनको मुस्कानले मलाई खुसी बनायो । धेरै पहिले एक दिन उमाले भनेकी थिइन्, 'लोग्नेमान्छे स्वार्थी हुन्छन्' । शायद म त्यस्तै भएँ कि? उनी मानसिक तनावमा छिन्, मेरो दिमाग  चाहिँ रोमान्सतिर हिड्न खोज्छ । साच्चै, संवेग फर्कियो । सम्झिएँ, उमाले अघिल्लो पटक लेखेर छाडेकी शब्दलाई – लाछि ! आफैलाई सुम्सम्याएँ, अनि भित्रैबाट निर्णय आयो, 'आज चाहिँ लाछि बन्ने काम किमार्थ स्वीकार्य छैन' ।

(गरिमामा प्रकाशित)